शनिबार, बैशाख ०८, २०८१

भारतलाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा, नेपाललाई खतराको संकेत

टोकियो । कोरोना भाइरसको संक्रमण महामारी फैलिएको ईण्डियालाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा समेटेको छ ।

ईण्डियासँगै पेरु र अमेरिकाको फ्लोरिडा, मिशिगन, मिन्नेसोटा र टेन्नेसी राज्यलाई पनि यस्तै कडा क्वारिन्टिन नियमको सूचिमा थप गरेको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

यो संँगै जापानले संक्रामक कोभिड १९ भाइरस रोकथाम नियमन अन्तर्गत नयाँ क्वारिन्टिन उपायहरूको अधीनमा रहेका देशहरूको संख्या ३२ पुगेको छ ।

ईण्डियामा बेलायती सहित नयाँ डबल म्युटेन्ट कोरोना भाइरस संक्रमणको संख्यामा द्रुत बृद्धि सँगै ज्यान गुमाउनेको संख्या दैनिक ३ हजार भन्दा बढी भइरहेको छ । जापानको एयरपोर्ट क्वारेन्टाइनमा अहिलेसम्म २० जना व्यक्तिमा ईण्डियन संस्करणसँग मेल खाने संक्रामक भाइरस पुष्टि भइसकेको छ ।

नेपालमा हालैका हप्तामा व्यापक कोभिड १९ संक्रमितको संख्या बृद्धि भएको छ । लकडाउनपछि नेपालस्थित जापानी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । अब कहिले खुल्छ भन्ने सूचना पछि जारी गरिने दूतावासले बताएको छ ।

हाल जापानले कडा क्वारिन्टिन प्रावधानमा समेटेको देशबाट आउने व्यक्तिहरुले जापानले तोकेको स्थानमा ३ दिन क्वारिन्टिनमा बस्नुपर्नेछ । त्यस्तो स्थानमा बस्दाको शुल्क व्यक्ति आफैंले तिर्नुपर्छ ।

जापान प्रवेशसँगै बिमानस्थल र तीनदिनपछि पुन गरिएको परीक्षणमा नकारात्मक पाइएपछि मात्र व्यक्ति आफ्नो वासस्थानमा जान सक्नेछन् । वासस्थानमा समेत पुन दुई साता क्वारिन्टिन नियम पालना गरेपछि मात्र सार्वजनिक स्थानमा निस्कन पाईने छ ।