शुक्रबार, चैत १६, २०८०

जमुनाह नाकामा आवतजावत हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन

बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँले भारतमा कोरोना सङ्क्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम कम गर्न भारत आवागमनमा रोक लगाइएको बताउनुभयो । मुख्य नाकाबाहेक ग्रामीण क्षेत्रका खुला नाकाबाट समेत आवागमन हुन नदिन सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट र नेपाल प्रहरीका चौकीमा कार्यरत सुरक्षाकर्मीलाई फिल्डमै पुगेर निर्देशन दिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार बिहीबार मात्रै जिल्लास्थित सुरक्षा अधिकारीको टोलीले बाँकेको जानकी गाउँपालिकामा पर्ने नेपाल–भारत बढैया सीमानाकाको अवलोकन गरेको छ । अवलोकनका क्रममा सीमानाकामा कार्यरत सुरक्षाकर्मीलाई निर्देशन दिनुका साथै कोरोना सङ्क्रमण रोकथामका सन्दर्भमा भारतीय सुरक्षा बलका अधिकृतसँग छलफलसमेत भएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले खुला सिमानाका कारण भारत–नेपाल हुनसक्ने अवैध आवागमनलाई रोक्न हरसम्भव प्रयास भइरहेको बताउनुभयो । खासगरी राप्तीपारिको नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका खुला सीमानाका र जानकी गाउँपालिकाको साइगाउँ नाकामा हुनसक्ने आवागमन रोक्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई परिचालन गरिएको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण र मृत्युको सङ्ख्या दैनिकरूपमा बढ्न थालेसँगै बाँकेको जमुनाह सीमानाकासँगै ग्रामीण क्षेत्रमा रहेका भित्री नाकामा समेत आवतजावतमा कडाइ गरिएको छ । बाँकेको ६५ किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सशस्त्र प्रहरी बलले सीमानाकामा गरेको कडाइ पछि जमुनाहनाका सुनसान बनेको छ । अनावश्यकरूपमा गरिने आवतजावतलाई पूर्णरूपमा बन्देज गरिएको छ । नेपालगञ्जस्थित मूलनाका जमुनाहबाट अहिले अतिआवश्यक औषधि उपचारबाहेक भारत जान रोक लगाइएको छ ।

जमुनाहनाकासहित भित्री बाटोहरुमा समेत सशस्त्र प्रहरीले ब्यारिगेट निर्माण गरेर आवतजावतमा कडाइ गरेको सशस्त्र प्रहरी बोर्डर अफ पोष्ट जमुनहाका सशस्त्र प्रहरी निरीक्षक जीबलाल बुढाले बताउनुभयो ।