बिहिबार, चैत १५, २०८०

हट्यो खुल्लामञ्चको बसपार्क

काठमाडौं । काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।

खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।

खुल्लामञ्चमा बसपार्क राखेर सार्वजनिक स्थानको दोहन गरेको भन्दै महानगरपालिका र सरकारको विरोध हुँदै आएको थियो । सार्वजनिक स्थान अभियान्ताहरूले ‘खुल्लामञ्च बचाऊ’ अभियानसमेत सञ्चालन गर्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

गत हप्ता काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले खुल्लामञ्चमा भएको बसपार्क हटाउने निर्णय गरेका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।