शुक्रबार, बैशाख ०७, २०८१

नेपाल सुपर लिग (एनएसएल) :ललितपुर र धनगढीले अंक बाँडे

काठमाडौं । धनगढी एफसी र ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।दुवै गोल दोस्रो हाफमा भएको खेलमा धनगढीका लागि नाइजेरियन खेलाडी ओलावाले आफिजले गोल गरे भने ललितपुरका लागि रन्जन विष्टले गोल गरे । खेलमा पेनाल्टीसहित गोल गर्ने राम्रा अवसर पाएको ललितपुरले त्यसलाई सदुपयोग गर्न सकेन ।

खेलको ४४ औं मिनेटमा ललितपुरले पेनाल्टी पाएपनि विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्न सकेनन् ।

धनगढीका कप्तान किरण चेम्जोङले अन्जनलाई पेनाल्टी एरियामा फाउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो तर नुर्लानको प्रहार किरणले बचाए ।

७२ औं मिनेटमा ओलावाले आफिजले हेड गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए । तर अग्रता लामो समय टिकेन । ७९ औं मिनेटमा रन्जन विष्टले ललितपुरका लागि बराबरी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले एक मिनेटपछि नै गोल गरेका हुन् ।

धनगढीको यो पहिलो बराबरी हो । बराबरीपछि ३ खेलबाट धनगढीले ४ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । बुटवल लुम्बिनी एफसी २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

एनएसएलमा ललितपुरको यो दोस्रो बराबरी हो भने अझै जित हात पार्न सकेको छैन । ३ खेलबाट ललितपुरले २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको ललितपुरले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।