बुधबार, बैशाख १२, २०८१

काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा सुरु,उडान नियमित

काठमाण्डौ । विश्वमा महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर नेपालमा पनि बढेपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको छ । काठमाण्डौमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएपछि गएरातिसम्मै काठमाण्डौबाट घर फर्कनेको घुइँचो लागेको थियो ।

उपत्यका बाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लालमा पनि आजै देखि निषेधाज्ञा लगाईएको छ भने केही जिल्लामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ । बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । यसअघि सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ साल साउन ७ गतेसम्म लकडाउन गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । आजदेखि खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिएर गाडी प्रयोग गर्न पाइने छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय अहिलेलाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइनेछ ।

यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै एयरपोर्ट जाने गाडीका लागि सहजीकरण गरिने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान भने नियमित हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ ।