बिहिबार, बैशाख १३, २०८१

पर्सामा बिहीबारदेखि निषेधाज्ञा जारी, दुई सय बेडको डेडिकेटेड कोभिड अस्पताल संचालन गरिने

वीरगंज । कोरोनाको हट स्पट बन्दै गएको पर्सा जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा घोषणा गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख १६ गते बिहान ४ बजेबाट लागु हुने गरी एक साताको लागि निषेधाज्ञा घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको डिसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । बैशाख १६ गते बिहान ४ बजेबाट लागु हुने निषेधाज्ञा बैशाख २२ गते राति १२ बजेसम्म लागु हुने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय छ ।

यस्तै, विदेशबाट जिल्ला भित्रिएका १० दिन अनिवार्य रुपमा होम आईसोलेसन वा सामुदायिक आईसोलेसनमा राख्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउनु पर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, नारायाणी अस्पतालले माग गरे बमोजिमको थप जनशक्तिको व्यवस्थापनको लागि सिसीएमसी र प्रदेश स्तरीय सिसीएमसीलाई अनुरोध गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

बैठकले नारायणी अस्पताल विकास समितिले माग गरे बमोजिम खटाइएका थप ६ जना जनशक्तिको पारिश्रमिक प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट डिसीएमसीले उपलब्ध गराउने निर्णय भएको छ । डिसीएमसीको बैठकले बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर र आईसोलेसन स्थापना गरी नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापन गर्ने निर्णय गरेको छ र यसको जिम्मा बैठकले नेपाली सेनालाई दिएको छ ।

यस्तै, बैठकले कम्तीमा २०० बेडको डेडिकेटेड कोभिड अस्पताल स्थापना र सन्चालनका लागि प्रदेश सरकारसँग अनुरोध गरी पठाउने निर्णय गरेको छ । बैठकले वीरगंजस्थिन नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेर कोरोना संक्रमितको उपचार गर्न गराउन अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

कोरोनाको हटस्पट बनेको पर्सा तथा आसपासका क्षेत्रलाई मध्यनजर प्रशासनले यस्तो निर्णय लिएको हो । हालको दिनहरुमा पर्सामा लगातार कोरोनाको विरामीहरु थपिदैं गएको तथा भारतबाट फर्किएकाहरुमध्ये समेत संक्रमित भेटिएकाले विरामी व्यवस्थापनमा समस्या देखिएको छ । स्मरण रहोस् वीरगञ्ज नारायणी अस्पतालमा भर्ना भएका कोरोनाका विरामीहरु मध्ये चैत्र देखि हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।