शनिबार, बैशाख ०८, २०८१

भारतमा एकैदिन साढे तीन लाखमा कोरोना संक्रमण,करिव ३ हजारको मृत्यु

भारत । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।

पछिल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा मात्र ३ लाख ४९ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । यसअघि शनिबार भारतमा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको थियो । भारतमा अहिलेसम्म कुल एक करोड ६९ लाख ५१ हजार ७६९ जना सङ्क्रमित भएको पाइएको छ ।

यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो २४ घण्टामा दुई हजार ७६१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ९२ हजार ३१० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये २६ लाख ८१ हजार ३७८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

त्यसैगरी अहिलेसम्म एक करोड ४० लाख ७८ हजार ८१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।