शुक्रबार, बैशाख ०७, २०८१

प्रधानमन्त्री ओलीविरुद्ध माधव नेपाल पक्षद्वारा सर्वोच्चमा रिट दर्ता, सम्भावित कारबाही रोक्न

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएको निवेदन बिहीबार दर्ता भएको हो ।

रिटको आइतबारका लागि पेशी तोकिएको छ । त्यस्तै, २०७५ जेठ २ गतेअघिकै नेकपा एमाले ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाऊँ भन्ने पनि निवदेनमा माग गरिएको छ ।

२७ जना सांसदका हकमा त्यस्तो आदेश माग गरिएको हो । निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

एमाले अध्यक्ष ओलीले बिनाकारण स्पष्टिकरण सोधेको र बाँकी कारबाही रोक्न भन्दै नेपालपक्ष अदालत गएको हो । ओलीले २७ सांसद्लाई मंगलबार पत्र पठाउँदै जुनसुकै बेला कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए । उनले नेपाल पक्षधर नेताहरूलाई एमालेकै नाम र सूर्य चिह्न प्रयोग गरेर किन नयाँ पार्टी खोलेको भन्दै प्रश्नसमेत गरेका थिए ।