बिहिबार, बैशाख ०६, २०८१

टोकियो लगाएत ४ प्रान्तमा तेस्रो पटक आपतकाल, शुक्रवार औपचारिक घोषणा हुने

जापान । टोकियो लगाएत ४ प्रान्तमा तेस्रो पटक आपतकाल घोषणा हुने भएको छ । जापानमा कोरोना संक्रमण बढ्दै गएपछि जापानले तेश्रो पटक देशका बिभिन्न ठाउँमा आपतकाल लगाउने निर्णयमा पुगेको हो ।

टोकियो, ओसाका, क्योतो र ह्योगोमा लागू हुने आपतकालको औपचारिक घोषणा भने २३ तारिख शुक्रवार गर्ने तयारी छ ।

जापानी संचारमाध्यम एनएचकेका अनुसार, राजधानी टोकियो, ओसाका, क्योतो र ह्योगोमा आपतकालको घोषणा गर्न लागिएको हो । यस पटकको आपतकाल पहिलेको भन्दा अझ कडा प्रकृतीको हुने बताईएको छ ।
अहिलेको घोषणा हुन लागेको आपतकालिन् अवस्थामा अल्कोहल बेच्ने पसलहरुलाई बन्द गर्न आग्रह गरिने छ । यदि त्यस्ता पसलहरुले रक्सी नबेच्ने प्रतिबद्दता जनाएको खण्डमा भने राती ८ बजे सम्म खोल्न दिने तयारी छ ।

कोरोना रोकथामको लागि मानिसहरुको चाप कम गराउने उद्देश्यले साताको अन्त्य र बिदाका दिनहरुमा सार्वजनिक बस तथा ट्रेनको संख्या घटाइने समाचारमा जनाएको छ ।