शुक्रबार, चैत १६, २०८०

टोकियोको एभरेष्ट स्कुललाई नेपाल सरकारद्वारा ११ र १२ कक्षा संचालन गर्ने अनुमति

टोकियो । जापानको राजधानी टोकियोमा संचालन भइरहेको नेपाली विद्यालय एभरेष्ट इन्टरनेशनल स्कुललाई नेपाल सरकारले ११ र १२ कक्षा संचालन गर्ने अनुमति दिएको छ ।

विगत ८ वर्षदेखि संचालन भई हाल कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको सो विद्यालयलाई चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ सम्म अध्ययन अध्यापन गर्न अनुमति दिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्रद्वारा जानकारी गराएको स्कुलका प्रिन्सिपल विष्णु भट्टले जानकारी दिए ।

सो विद्यालयबाट नेपाली पाठ्यक्रममा आधारित भएर हाल कक्षा १० सम्म पढाइ भइरहेको छ । हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि आगामी शैक्षिक सत्र २०२१-२२ (२०७८) बाट कक्षा ११ को पढाइ सुरु गर्न आवश्यक रहेको जनाउँदै विद्यालयले मन्त्रालयसमक्ष निवेदन दिएको थियो ।

कक्षा ११ र १२ को सञ्चालन अनुमतिका लागि निवेदन गरेकोमा मन्त्रालय र त्यस स्कुलबीच वैशाख ३ मा भएको समझदारी पत्रमा उल्लेखित शर्त पालना गर्ने गरी मागअनुसार माध्यमिक तहको कक्षा ११ र १२ को क्रमशः कक्षा सञ्चालन अनुमति दिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई दिएको बोधार्थमा एभरेस्ट इन्टरनेसनल स्कुल, जापानको माध्यमिक तह कक्षा १२ सम्मको सञ्चालनको भौतिक पूर्वाधार, शिक्षण व्यवस्था, विद्यार्थी संख्या र पाठ्यसामग्री परीक्षा व्यवस्थापनसमेतका विषयमा जापानस्थित नेपाली राजदूतावासबाट अनुगमन गरी सोको जानकारी यस मन्त्रालयले प्राप्त गर्ने व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।

विदेशमा बस्दा नेपालको भाषा, संस्कृति र भेषभुषालाई आत्मासाथ गर्दै नेपाली पाठ्यक्रममा पठनपाठन गर्न पाउनु खुशीको भएको प्रिंसिपल भट्टले बताउनु भयो ।