शुक्रबार, बैशाख ०७, २०८१

आइपिएलमा दिल्लीको तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । चेन्नईको चिदमबरम स्टेडियममा मंगलवार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ५ बल बाँकी छँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाउँदा इशान किशानले २६ रन बनाएका थिए। त्यस्तै, सूर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन जोडे। दिल्लीका लागि अमित मिश्राले सर्वाधिक ४ विकेट लिँदा अभेस खानलेले २ तथा मार्कस स्टोइनिस, कगिसो रबाडा र ललित यादवले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाउँदा स्टिभ स्मिथले ३३, ललित यादवले २२ र शिम्रोन हेटमायरले १४ रन जोडे।

मुम्बईका लागि जयन्त यादव, जसप्रित बुमराह, राहुल चहर र काइरोन पोलार्डले १/१ विकेट लिए। जारी सिजनमा चार खेल खेलेको दिल्लीको यो तेस्रो जित हो भने समान खेल खेलेको मुम्बईको यो दोस्रो हार हो।