शुक्रबार, बैशाख ०७, २०८१

आफ्नै आदेशको उल्लंघन गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम(फोटोफिचर)

काठमाडौं । चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाइएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो । प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।

प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमा सहितको रथयात्रालाई विदाई गरेको बताइएको छ । मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाटमा रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्राणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै सोमबार सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाइने भन्दै आदेश जारी गरेको थियो । तर बालुवाटारमा भएको त्यो कार्यक्रमले प्रधानमन्त्री आफैंले उल्लंघन गरेका छन् ।

मापदण्ड उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने सरकारले चेतावनी दिएको छ । तर प्रधानमन्त्री दम्पतीको उपस्थित कार्यक्रम भने जात्रा भन्दा कम थिएन । कोरोना नियन्त्रणका लागि कहिले बेसार पानी त कहिले अम्बाको पात खान जनतालाई उपदेश दिने प्रधानमन्त्रीबाट यस्तो काम गर्नु कति उचित हो त ?