शुक्रबार, बैशाख ०७, २०८१

माथिल्लो तामाकोशीबाट आगामी भदौभित्र ४५६ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।

उनले पहिलो युनिटबाट बैशाख भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको जानकारी दिए । बाँकी विद्युत महिनैपिच्छे क्रमशः उत्पादन थप्दै लगिने बताए । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शुरु गर्ने रहेपनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताए ।

बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन शुरु हुँदा बैशाख ३१ गते सम्भव हुने बताए । आयोजनाको काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिनअघि मात्रै आयोजनास्थलको अनुगमनमा पुगेको भन्दै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए ।