बिहिबार, बैशाख ०६, २०८१

हामीले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए पछाडि हट्दैनौँः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।
आइतबार आफ्नो निवासमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् ।

तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनले बताए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि देउवाले बताए ।

उनले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ ।’

सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद पुनस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे ।