पाश्चात्य शिक्षा पद्धतिको सबैभन्दा ठूलो दोष नै ‘अहङ्कार’को पृष्ठपोषण गर्नु हो

डा. गोविन्दशरण उपाध्याय ।

आत्मा न स्तोतव्यः (चाणक्य सूत्र ४८४)
आफ्नो प्रशंसा आफैं गर्नुहुँदैन । सधैं आफ्नो जयजयकार होस्, सबै मेरा भजनमण्डली सदस्य बनुन् भन्ने धारणा राख्नेहरूका लागि महामना चाणक्यको यो सूत्र वन्दुकको गोली भन्दा कम छैन । आत्म प्रशंसा नगर्नु वैदिक संस्कृतिको एउटा महत्वपूर्ण अंग हो । वेदले “अहं इति त्यजेत“ अर्थात् अहङ्कारको सधैं त्याग गर्नु भन्ने प्रष्ट आदेश दिएको छ । वैदिक ऋषिहरूले वेदका यी आदेशहरूको अक्षरसः पालन गरेका छन् ।

अनेकौं शास्त्रको रचना गरेर विश्वलाई पथ प्रदर्शन गरेका ऋषिमुनिहरूले आफ्नो नाम, जन्ममिति, ठाउँआदिका विषयमा कुनै जानकारी दिनुभएको छैन । विश्वको कल्याणको भावनामा “मेरो नाम हुनुपर्छ, म गुरू हुँ, म ज्ञानी छु, म श्रेष्ठ छु, मेरो आज्ञा सबैले मान्नुपर्छ“ भन्ने भावना हुँदैन । यदि कसैले आफुलाई वैदिक संस्कृतिको विनम्र अनुयायी हुँ भन्छ र सधैं आफ्नो नामको लागि मरिहत्ते गर्छ भने त्यो ढोंगी हुनुपर्छ ।
गीतामा पनि अहंकारले अन्धोभएको मान्छेले “म, मेरो र मैले“ भन्ने गर्छ । चाणक्य आफैले वैदिक आदेशको अक्षरसः पालन गरेको बुझिन्छ किनभने अर्थशास्त्र, नीतिशास्त्र, कामशास्त्रआदि गहन पुस्तकहरूको रचना गरेर पनि आफ्नो विषयमा परिचय नदिनुको मुख्य कारणनै “अहङ्कार“को दोषबाट जोगिनु रहेको हुनुपर्छ ।

आजभोली “अनन्त श्रीविभूषित, जगदगुरु, विश्वगुरू, ब्रह्माण्ड गुरू, १०८, १००८ श्रीजस्ता उपाधिहरू लेख्ने गुरूहरूको विगविगी छ । प्राचीन वैदिक ऋषिहरूमा सनकआदि ऋषि, नारद, भारद्वाज, विश्वमित्र, अत्रि, बशिष्ठ, वालखिल्य, अंगिराआदि ऋषिहरूले आफुलाई कहीं पनि गुरू, जगद्गुरु, विश्वगुरू वा अनन्तश्री उपाधिहरूले विभूषित गरेको भेटिन्न ।

प्रसिद्ध दार्शनिक सिद्धान्तकारहरूमा कपिल, पतंजलि, कणाद, जैमिनी, शंकराचार्यआदि कसैले पनि आफ्नो नामको आगाडी “अनन्त श्रीविभूषित, जगदगुरु, विश्वगुरू, ब्रह्माण्ड गुरू, १०८, १००८ श्रीजस्ता उपाधिहरूलगाएको देखिन्छ । यदि कसैले आत्मरतिका लागि एस्ता उपाधिहरू जोडेर आफ्नो परिचय दिन्छ भने ऊ वैदिक संस्कृतिको विनम्र अनुयायी नभएर अहङ्कारको पूजारी हो । यस्ता गुरु र यी गुरुलाई मान्ने दूवैको नर्कको वास नियत छ । कुतर्क गरेर आफ्नो अहङ्कारको पक्ष पोषण गर्दैमा नर्कबाट जोगिन सकिन्न ।

वैदिक ऋषिहरूको वल उनीहरूको तपस्या र साधना हो । तपस्या र साधनारत व्यक्तिका लागि अहङ्कार शत्रुसरह हुन्छ । विनम्रता, दया, करूणा, क्षमा, अहिंसा, तपस्या, विश्वको कल्याणको लागि आत्मउत्सर्ग तथा धर्म, अर्थ, काम र मोक्षको साधना नै वैदिक संस्कृतिको उत्स हो । अहङ्कारपूर्वक जसले आफ्नो प्रशंसा गर्छ र गर्न अभिप्रेरित गर्छ चाणक्यका अनुसार “आफैले आफ्ना पापकर्मको विज्ञापन गरिरहेको हुन्छ (चासू ४९६) । अहंकारी व्यक्तिको आचरणले उसको अहङ्कारका वारेमा सूचना दिन्छ । पाश्चात्य शिक्षा पद्धतिको सबैभन्दा ठूलो दोष नै “अहङ्कार“को पृष्ठपोषण गर्नु हो ।

असलमा, वैदिक संस्कृतिका विनम्र साधकहरू सधैं आफूलाई “घुरान भन्दा विनम्र, रूखझैं सहिष्णु र सधैं अर्कालाई सम्मान गर्ने र आफ्नो सम्मानको परित्याग गर्ने“ हुन्छन् । मनुस्मृतिका अनुसार जसले आफ्नो गुणगान गर्छ र गर्न लगाउँछ, तेस्तो व्यक्ति “धर्मध्वज“ अर्थात् “धर्मलाई मागिखाने भाँडो“ बनाउने अधम हो । त्यस्ता व्यक्तिहरूको नियतं नरके वास“ अर्थात् नर्कको वास निश्चित हुन्छ । तसर्थ, हामी वैदिक संस्कृतिका विनम्र अनुयायीहरूले आफूले अहङ्कार गर्नुहुँदैन र अहंकारी व्यक्तिको बचाउ पनि गर्नुहुँदैन । निराभिमानी, अहङ्काररहित तथा विनम्र हुनु पनि सनातन धर्मका गुण हुन् । त्यसैले धार्मिकहरू आत्मप्रसंशाका भोका हुँदैनन् ।
स्वस्ति अस्तु

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: