शुक्रबार, बैशाख ०७, २०८१

जापानमा कोरोना संक्रमण बढ्दो, संक्रमितको संख्या ५ लाख २७ हजार नाघ्यो

टोकियो । जापानमा क्रमश कोरोना संक्रमितको संख्या उकालो लागेको छ । आपतकाल हटाए पनि भाइरस बिरोधी कडा नियन्त्रण उपायहरु लागू भइसकेको छ तर पनि झण्डै हप्तादिन यता कोरोना संक्रमितको संख्या झनै बढेको सरकारी तथ्यांकले देखाउँछ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार बिहिबार जस्तै अप्रिल १६ तारिख शुक्रबार पनि ४५ सय भन्दा धेरै नयाँ कोरोनाका बिरामी थपिएका छन् । संक्रमण मात्र होइन निधन हुनेको संख्या र गम्भिर बिरामीको संख्यामा पनि उस्तै बृद्धि जारी छ ।

पछिल्लो तथ्यांक अनुसार शुक्रबार ४,५३२ कोभिड १९ संक्रमित र ३८ जनाको निधन भएको छ । संक्रमणसँगै निधनमा पनि मुख्य शहरहरु टोकियो, ओसाका, ह्योगो, साइतामा, खानागावा र चिबा जस्ता प्रिफेक्चरहरुकै बर्चस्व रहेको छ ।

हालसम्म संक्रमितको संख्या ५ लाख २७ हजार र निधन ९६ सयको संघारमा पुगेको छ ।

डरलाग्दो विषय के भने गम्भिर बिरामी हुनेको संख्या दोहोरो अंकमा बढिरहँदा अस्पतालहरु चर्को दबावमा पर्न थालेका छन् । सयौं संक्रमितहरु उपचारको लागि पालो कुर्नुपर्ने अवस्था सुरु भएको छ र यो आगामीदिनमा झनै विकराल बन्ने संकेत लगातारको संक्रमण बृद्धिले गरेको छ ।

हाल देशभरका अस्पतालमा ६७० जना गम्भिर अवस्थाका कोरोना बिरामी रहेको र पछिल्लो २४ घण्टामा मात्र ३९ जना थपिएका छन् । यसमा डरलाग्दो कुरा गम्भिर बिरामी भएर निधनहुनेको संख्या बढिरहेपनि गम्भिर अवस्थाका बिरामी घटेका छैनन् थप बृद्धि भइरहेको छ । यसले आगामी दिनमा मृतकको संख्या उच्च हुने देखिन्छ ।

कोरोना संक्रमण भएका बिरामी मध्ये ४ सय ७६ हजार भने निको भइसकेका छन् ।