शनिबार, बैशाख ०८, २०८१

जापानको चार प्रिफेक्चरमा कडा भाइरस प्रतिरोधी उपाय लागू गर्ने घोषणा

टोकियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापान सरकारले एकसाथ चार प्रिफेक्चरमा कडा भाइरस प्रतिरोधी उपाय लागू गर्ने घोषणा गरेको छ । अप्रिल १५ तारिख सरकारले चिबा, खानागावा, साइतामा र आइची प्रिफेक्चर गर्भनरलाई यस्तो कडा नियम लागूको अनूमति दिने घोषणा गरेको हो ।

सरकारको यो निर्णयपछि टोकियो तथा ओसाका सहित जापानमा कोरोना भाइरस प्रतिरोधी उपाय लागू हुने प्रिफेक्चरको संख्या १० पुगेको छ ।

सरकारको निर्णय अनुसार भाइरस प्रतिरोधी नियम लागूको क्षेत्र सम्वन्धित प्रिफेक्चरले तोक्नेछन् । नियम अप्रिल २० तारिखबाट लागू भएर मे ११ तारिखसम्म लागू हुनेछ । नियम रेष्टुरेण्ट, बार, काराओके, डिस्को, क्लव, पब सहित खानपान क्षेत्रमा लागू हुनेछ ।

नयाँ नियम लागू हुने क्षेत्रमा योकोहामा शहर, कावासाकी शहर र सागामिहारा शहरलाई समावेश गरिएको छ । यि क्षेत्रमा रेष्टुरेण्ट, बार लगायत खानपान गर्ने स्थानलाई रात ८ बजे बन्द गर्न अनुरोध गरिनेछ । यस बापत प्रिफेक्चर सरकारले ति पसल व्यवसायलाई तोकिएको रकम अनुदान उपलब्ध गराउनेछ ।

राजधानीसँगै जोडिएको अर्को प्रिफेक्चर साइतामा हो । टोकियोसँग प्रत्यक्ष सरोकार राख्ने यहाँ संक्रमितको संख्यामा लगातार बृद्धि भइरहेको छ । यसैलाई मध्यनजर गर्दै भाइरस प्रतिरोधी नियम यहाँ पनि लागू हुने भएको छ ।
अप्रिल २० बाट मे ११ तारिखसम्म भाइरस नियन्त्रणको कडा नियम लागू गरिनेछ ।

नियम लागू हुने क्षेत्रमा साइतामा शहर र कावागुची शहरलाई समेटिएको छ । प्रिफेक्चरले मदिरालय रेष्टुरेण्ट तथा बारहरुलाई रात ८ बजे बन्द गर्न अनुरोध गर्नेछ । दैनिक संक्रमितको संख्या डेढ सयको आसपास भेटिन थालेपछि अस्पतालहरुमा चाप बढ्दै जाँदा चिबामा कडा भाइरस प्रतिरोधी नियम लागू हुने भएको छ ।

प्रिफेक्चरको फुनाबासी, ईचिकावा, माचुदो, कासिवा, उरायासु शहरमा यस्तो कडा नियम लागू हुनेछ । नियम अप्रिल २० तारिखबाट मे ११ तारिखसम्मनै रहनेछ ।

प्रिफेक्चरले भाइरस प्रतिरोधी कडा नियम रेष्टुरेण्ट, काराओके, बार तथा खानपान हुने क्षेत्रमा लागू हुने जनाउँदै रात ८ बजे यि स्थान बन्द गर्न अनुरोध गरेको छ । आइची प्रिफेक्चरमा अप्रिल १५ तारिख २१८ जना कोरोना भाइरसका बिरामी पुष्टि हुँदा यहाँको सरकारले भाइरस नियन्त्रणको कडा उपाय अपनाउने निर्णय गरेको छ ।

केन्द्र सरकारले आफुले गरेको अनुरोध अनुसार भाइरस प्रतिरोधी नियम लागू गराउन स्विकृत दिएपछि गर्भनर ओमुराले चौथो लहरमा फैलिएको संक्रमण नियन्त्रण गर्न नियम २० तारिखबाट गराउने छन् ।

अप्रिल २० तारिखबाट रेष्टुरेण्ट, बार तथा खानपान स्थानलाई रात ८ बजे बन्द गर्न अनुरोध गर्ने र यो नियम मे ११ तारिखसम्म लागू रहने आईची प्रिफेक्चरले जनाएको छ ।

यस्तो नियम प्रिफेक्चरको नागोया शहरको ठूलो भागलाई समेट्नेगरि लागू गरिने भएको छ । भाइरस प्रतिरोधी नियम लागू हुने क्षेत्रलाई दिने राहत अनुदान लगायत विवरण जारी गरिएको छैन ।