बिहिबार, बैशाख ०६, २०८१

गाईफार्ममा एक युवकको हत्या, हत्यामा संलग्न पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ ।

सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा खुकुरी प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । हत्यामा संलग्न काठमाडौँ गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा खुलालले सामान्य विवादमै खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खुलाललाई भेट्न गाईफार्म पुगेका राई, महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिष योञ्जन र सुनिल बलबीच कुराकानीकै क्रममा विवाद भएको थियो ।

राई र खुलालबीच विवाद भएपछि खुलालले कोठाबाट खुकुरी ल्याई राईलाई हान्न थालेपछि योञ्जन र बल झ्यालबाट भागेर ज्यान जोगाएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले हत्या गरी भाग्दै गरेका कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भई सिपाडोलमा गाईफार्ममा रहेका खुलाललाई पक्राउ गरेको हो ।

घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापासमेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको तथा घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ । खुकुरी प्रहारबाट राईको घाँटी र टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।