शुक्रबार, चैत १६, २०८०

ओलीले राष्ट्रियता र लोकतन्त्रको लक्ष्मणरेखा भत्काएः नेता भुसाल

बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र लोकतन्त्रको लक्ष्मणरेखा भत्काउँदै गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा भुसालले ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर आफूसँग सबैभन्दा असहमत पात्र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरसँग मिलेर सरकार बनाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

भुसालले ओलीले बिगारेको राजनीति आफूहरू सुधार गर्न लागेको बताए । उनले भने,‘ओलीको अहंकारको अगाडि आत्मसमर्पण गरिँदैन । एउटै कमिटीमा बसेर अन्तर्संघर्ष गर्ने अवस्था नरहेकाले प्यारलल कमिटी गठन गरी अन्तर्संघर्षमा लागेका हौं ।’

भुसालले मुलुकमा अझै वाम गठबन्धनकै सरकार बन्ने सम्भावना रहेको बताए । प्रधानमन्त्रीले आफ्नो पदीय तृष्णा त्यागेर विगतमा आफूले बिगारेको कुराप्रति जिम्मेवारी लिए वामपन्थी गठबन्धनकै सरकार बन्न कुनै अप्ठ्यारो नभएको दाबी गरे ।