शुक्रबार, बैशाख ०७, २०८१

लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइयोः प्रधानमन्त्री

काठमाडौं । मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ गरिएको छ ।

नयाँ वर्ष २०७८ को शुरुआतसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि बलिदान दिने र जीवन आहुति दिन तयार हुने लोकतान्त्रिक योद्धालाई सम्मान गरेर उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । समारोहमा प्रधानमन्त्री ओलीले मुलुकमा नयाँ सिलसिलाको प्रारम्भ भएको बताए । काठमाडौँमा बुधबार आयोजित लोकतान्त्रिक योद्धा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आन्दोलनमा योगदान दिने व्यक्तिलाई खोजी–खोजी तथ्यका आधारमा सरकारले उचित सम्मान दिने र उक्त अभियान निरन्तर अघि बढ्ने जानकारी दिए ।

बलिदानपूर्ण सङ्घर्षको इतिहासलाई सरकारले नविर्सिएको उनले बताए । प्रधानमन्त्रीले ओलीले भने, “इतिहासप्रति, अग्रजले गरेका बलिदानप्रति कृतघ्न हुन सक्दैनौँ, हामी कृतज्ञ हुनुपर्छ र त्यही कृतज्ञता स्वरुप नयाँ वर्ष २०७८ मा यहाँहरुलाई सम्मान गरेर नयाँ सिलसिला थालेका छौँ ।” उनले अरु पनि लाइनमा रहेकाले यो सिलसिला कायम रहने बताए ।

उनले आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामको विषयमा ध्यान गएको बताए । प्रधानमन्त्रीको समुपस्थितिमा कूल ३८१ लाई यसरी लोकतान्त्रिक योद्धा सम्मान गरिएको थियो । त्यसमा १७६ बहिर्गमित लडाकुसहित दुई जनआन्दोलनका शहीद, १८ सशस्त्र सङ्घर्षका शहीद, ४७ सेनातर्फका शहीद, ४१ प्रहरीतर्फका शहीद, सशस्त्र प्रहरीतर्फ १६, राष्ट्रिय अनुसन्धानतर्फ तीन र मधेश आन्दोलनका २० शहीद परिवारलाई सम्मान गरिएको थियो ।

अन्य सम्मान प्राप्त गर्नेमा विभिन्न आन्दोलनमा सहभागी भएर घाइते÷अपाङ्गता भएका रहेका थिए । जिउँदा शहीदका रुपमा परिचित काभ्रेका मुकेश कायस्थको घरमै भएको सम्मान समारोह प्रधानमन्त्री ओलीले भर्चुअलबाट अवलोकन गरेका थिए । उक्त समारोहमा विसं २०६७ मा गम्भीर घाइते भएकालाई आफू भेट्न गएको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले घाइतेको कुरुवा र बिरामीको जीविका तथा औषधोपचारको प्रारम्भ गरिएको स्मरण गरे । प्रधानमन्त्री ओलीले भने,“अहिले पनि शहीदका परिवार आवासविहीनका अवस्थामा छन् भने आवास उपलब्ध गराउने, घर बनाउनका लागि जमिन छैन भने भूमि आयोग र भूमि मन्त्रालयमार्फत कसरी व्यवस्थापन गर्न सकिन्छ, हामी सोचिरहेका छौँ, त्यसको पनि लगत लिने काम शुरु भएको छ ।”

उनले मुलुकमा कोही पनि बालबालिका अभिभावकविहीन हुनु नपर्ने र शहीदका परिवारले अभिभावक र शहीदका आमाबुबा बेसहारा भयौँ भन्नुपर्ने अवस्था आउन नदिने र त्यसको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाए । उनले आन्दोलनको टुप्पोमा बसेर दुःखकष्ट नगरी विदेशमा बसेर आन्दोलनको नेतृत्व गरेको भन्नेले बेहाल भइरहेकाको वास्ता गर्न नसक्ने प्रधानमन्त्री ओलीको जिकिर थियो । “आन्दोलनमा कहिल्यै पिटाइ खाएको छैन, जेल गएको छैन, भोकै बस्नुपरेको छैन, क्रान्तिकारी कुरा गरेको छ, अरुलाई भट्काएको छ, होमिदिएको छ, त्यस्ता मान्छेले यो पीडा बुझ्दैनन्”, प्रधानमन्त्री ओलीले भने ।

उनले भने, “खानै नदिएर डेढ महिनासम्म थुनेर लगातार कुटाइ खाँदा कस्तो हुन्छ, हामीलाई थाहा छ । कसैलाई देख्न नपाउने गरी चार वर्षसम्म थुन्दाको पीडा हामीलाई थाहा छ ? परिवारसँग बिछोडिएर चौध/पन्ध्र वर्षसम्म जेल बस्दा कस्तो हुन्छ हामीले भोगेका छौँ, ती पीडा बुझेकै हुनाले आँशुको महत्व के छ, यातना र दमन कस्तो हुन्छ भन्ने थाहा छ ।”

उनले शहीदको बलिदान र घाइतेको त्यागबाट मुलुकले एउटा नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तर जसले बलिदान दिए तिनका परिवारलाई प्राप्त नहुने अवस्था हुन नहुनेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले विद्रोही, सुरक्षाकर्मी वा आम नागरिक जतासुकैबाट भए पनि बलिदान दिन बाध्य जोसुकै देशका लागि आदरणीय र अमर रहेकाले उहाँहरुलाई सम्मान दिएको बताए । उनले राजनीतिक प्रसङ्ग जोड्दै समाजवाद उन्मुख मुलुकमा समाजवादका विषयमा गलत व्याख्या भइरहेको उल्लेख गरे । एकथरी मान्छे आफूले प्रधानमन्त्री पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्किएर कराउन थालेको भन्दै उनले त्यस्ता व्यक्तिले परिवर्तन नै नबुझेको बताए । प्रधानमन्त्री ओलीले भने, “संविधान र व्यवस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन, लोकतन्त्रको मूल्यमान्यता केही तलमाथि परेको छैन, केही मान्छे महत्वकांक्षा पूरा हुन पाएन, लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइरहेका छन् ।”