शुक्रबार, चैत १६, २०८०

असारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्न सक्ने

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्ने प्रक्षेपण गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना संक्रमितहरु थपिन सक्ने बताएका हुन् । उनले दैनिक ११ हजार संक्रमित थपिँदा असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्ने बताए ।

मन्त्री त्रिपाठीले अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको र त्यसका लागि आवश्यक तयारी पनि गरिएको जानकारी दिए । उनले संक्रमण बढ्दै जाँदा बालबालिकालाई जोगाउन चुनौती थपिएको बताए।

उनले भने, ‘अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।’ यसै अवस्थालाई मध्यनजर गर्दै काठमाडौंसहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भइरहेको पनि उनले बताए । उनले संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए ।