पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । विजयी भएको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने निर्वाचन समितिले जनाएको छ । निर्मला शर्मालाई दुई हजार भन्दा बढी मतान्तरले पोखरेल विजयी भएका हुन् । त्यस्तै माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् ।

महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा भने रोशन पुरीले विजय बनेका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् ।

खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् ।

सदस्यहरुमा सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति) लगायत निर्वाचित भएका छन् । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: