बिहिबार, बैशाख १३, २०८१

संविधान मिच्ने काम हुँदै गए नयाँ खालको विद्रोहः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जोगाउनका लागि नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री को हुन्छ भन्ने मुख्य कुरा नभएको बताएका हुन् ।

उनले नयाँ सरकार गठनका लागि तीन दलबीच छलफल सुरु भएको र केही दिनमा नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई विश्वास छ यो सरकार अब धेरैदिन टिक्दैन । संविधान जोगाउने कुरा मुख्य हो, संविधान परिमार्जन गरेर जान सकिन्छ । प्रधानमन्त्री को हुने भन्ने मुख्य विषय होइन ।’ उनले सकेसम्म सहज ढंगले संविधान ऐन कानुन हुने गरी सरकारको नेतृत्व हस्तान्तरण होस् भन्ने आफूहरुको चाहना रहेको बताए । उनले संविधान कार्यान्वयन हुने वातावरण नबने फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

उनले भने, ‘फेरि आन्दोलनमा जानुको विकल्प देखिएको छैन । सकेसम्म जनतालाई दुःख नदिइकन संविधान कार्यान्वयन गर्ने वातावरण बनोस्, ऐन कानुन बनुन् भन्नका लागि नयाँ सरकार गठनमा लागेका छौं । यदि त्यस्तो भएन संविधान मिच्नेनै काम भयो भने एउटा नयाँ खालको विद्रोहमा जान सक्ने अवस्था आउन सक्छ । हामी त्यो परिस्थिति आउनु अघि नयाँ सरकार गठन गरी यो बीचमा भएका अत्याचार सच्याउन चाहन्छौं । यदि नेपाली जनतालाई बाध्य पारियो भने सिंहदरबार भित्र र देशभरीबाट प्रतिवाद गर्ने अवस्था आउन सक्छ ।’

उनले अहिले दिनदिनै संविधान मिच्दै जवर्जस्ती राज्यकव्जा गर्ने अभियान चलिरहेको बताए । उनले भने, ‘हुनै नसक्ने र हुँदै नहुने चीज भइरहेको छ । नियम विरोधी कुरालाई पछ्याइएको छ । देशमा अन्यौल र सन्त्रास छ । आत्मसम्मान र देश निर्माणका लागि वाम गठबन्धन गर्यौं । भोट हाल्दा पूर्वमाओवादीका भोट एमाले र एमालेका भोट माओवादीमा परेका छन् । कसरी छुट्याउनु ? एकीकृत पार्टी आफ्नै चुनाव चिन्हमा चुनाव लडे । तर हाम्रो देशको अदालत यस्तो अवस्थामा देखियो तीन वर्ष पहिलेको अवस्थामा पार्टीलाई पुर्याइदियो । केपी ओलीलाई जनविरोधी काम गरेकाले ७० प्रतिशतले हटाएको थियो त्यो वैधानिक थियो । संसदको बहुमत सदस्यले दलको नेताबाट हटाएको थियो । यो संवैधानिक र बैधानिक थियो । तर हाम्रो सरकारले सेटिङमार्फत आधिकारिक फैसला खारेज गरिदियो । बेइमानी छलकपटलाई बैधानिकता दियो । पार्टीले हटाएको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटिसकेको मान्छेलाई पुनः प्रधानमन्त्री बनाउने काम भयो । यो लोकतन्त्रको मूल्यान्यता देखिएन । त्यो पनि भन्ने गरिन्छ सेटिङमा । सेटिङमा गर्न थालेपछि कसैले न्याय पाउने अवस्था रहँदैन।’