काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई सरकारले गरेका कामलाई लिएर संसदमा बहस गर्न आउन चुनौती दिएका छन् । बिहीबारको प्रतिनिधिसभा सांसद थापाले प्रधानमन्त्रीलाई संसद आएर बहस गर्न चुनौती दिएका हुन् ।
प्रधानमन्त्रीले बाहिर गलत तथ्यांक प्रस्तुत गर्दै मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चुनौती दिएका हुन् ।
उनले भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु । प्रधानमन्त्रीज्यू म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु । तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसदमा आएर बाल कविता वाचन गर्ने ?’
उनले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्बाट भागेर नजान आग्रह गरे । उनले पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै व्यंग्य गरे ।
थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताए ।
उनले प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दावी गरेको उल्लेख गरे । उनले भने, ‘५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ?’
उनले २०५५ सालमा मेलम्ची विकास समिति बनेपछि पनि २३ बर्ष लागेको बताउँदै उनले यो बीचमा सबै दल सरकारमा बसेको उल्लेख गरे । उनले सात आठ वर्षमा बन्नुपर्ने आयोजना २३ वर्षमा बन्दा अर्बौं रुपैयाँ भार पर्दा प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए ।