बिहिबार, बैशाख १३, २०८१

नेपाल एयरलाइन्सको काठमाडौं-नारिता उडान तालिका परिवर्तन, ४ घण्टाअघि एर्पोर्ट पुग्नु पर्ने

जापान । नेपाल वायु सेवा निगमले संचालन गर्दै आएको नेपाल एयरलाइन्सको काठमाडौं-नारिता उडान तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सले यसअघि सातामा तीन उडान भर्दै आएपनि हाल साताको दुई उडान नेपाल र जापानबिच गर्दै आएको छ ।

कोरोना भाइरस महामारीका कारण उडान अवरोध तथा विभिन्न नियम परिवर्तन हुने क्रममा नेपाल एयरलाइन्सले हालै उडान तालिका र केही नियममा परिमार्जन गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिमानस्थल दैनिक १८ घण्टा मात्र संचालन गर्ने निर्णय गरेपछि सोही नियमलाई पछ्याउदा नयाँ परिवर्तन गरिएको बताइएको छ ।

नेपाल एयरलाइन्सले यसअघि सातामा तीन उडान भर्दै आएपनि केही महिना यता साताको दुई उडान मात्र गर्दै आएको छ । जस अनुसार हाल मंगलबार र बिहिबार नेपालबाट बिमानले उडान भर्दै आएको छ । तर जापानमा भने बिमान बुधवार र शुक्रबार अवतरण हुन थालेको छ ।
यसअघि मध्यरात १ बजे उडान भर्ने हुँदा आउने र फर्कने दिन एउटै पर्ने गर्दथ्यो । तर हाल रात ११ बजे उडान भर्न थालेकाले आउने र फर्कने दुई दिन हुन पुगेको छ । बिमानलाई नेपालबाट जापान आउन तथा फर्कन करिव ८ घण्टा लाग्ने गर्दछ ।

नेपालबाट मंगलबार र बिहिबार नेपाली समय अनुसार रात ११ बजे उड़ान भर्ने हुदा जापानमा अवतरण हुने समय अर्कों दिनको स्थानीय समय अनुसार बिहान ९ बजे अबतरण हुन्छ ।
जापानबाट बुधवार र शुक्रबार ११ बजे बिमान उड्ने र नेपालमा स्थानिय समय अनुसार दिउँसो ३ : ३० बजे अवतरण हुने छ ।
एयरलाइन्सको उडान तालिका अनुसार अप्रिल महिनामा जापानबाट ७, ९, १४, १६, २१, २३, २८, ३० तारिख बिमान नेपाल उड्नेछ । नेपालबाट जापान आउने मिति ठिक यसको अघिल्लो दिन हुनेछ ।
अक्टोबरसम्मको लागि हालकै कार्यतालिका अनुसार नेपालबाट मंगलबार र बिहिबार तथा जापानबाट बुधवार र शुक्रबार उडान तालिका तय गरिएको जापानस्थित नेपाल एयरलाइन्स जापान प्रमुख गौरवी चन्द शाहले जानकारी दिनुभयो ।

यसअघि यात्रुहरुले बिमान उडान भर्ने समय भन्दा औषतमा २ घण्टा अघि बिमानस्थल पुगे हुनेभएपनि हाल यो समय ४ घण्टा बनाईएको छ । यात्रुको पीसीआर परीक्षण रिपोर्ट सहित नेपाल सरकारले लागू गरेको नियमानुसारको फारम चेकजाँच लगायत प्रक्रिया पुरा गर्न समय लाग्ने हुनाले अनिवार्य उडान समय भन्दा ४ घण्टा पहिले बिमानस्थल आइपुग्न एयरलाइन्सले अनुरोध गरेको छ ।

जापानबाट नेपाल जाने सबै यात्रुले अनिवार्य रुपमा सिसिएमसीको फारम अनलाईनमा भर्नुपर्नेछ, भरेको फारामको प्रिन्ट वा स्किृन सर्ट मोबाइमा राख्नु पर्दछ । त्यसमा भएको बारकोड नेपाल बिमानस्थलमा पुगेर बुझाउनुपर्ने जनाएको छ ।

हरेक यात्रुले ३५ केजी लगेजमा सामान बोक्न पाउनेछन् । तर यसमा एउटा लगेज बढीमा ३२ केजी सम्म पाइनेछ । यसको अर्थ दुईवटा सुटकेसमा आफ्नो सहजता अनुसार सामान राखेपनि हुन्छ तर अधिकतम ३५ किलो नाघ्न हुँदैन । यस बाहेक ह्याण्ड क्यारि ७ केजी लैजान पाइनेछ ।
तौल बढी भएमा प्रति केजी २ हजार जापानी येन शुल्क तिर्नुपर्नेछ ।

५ बर्ष भन्दा कम उमेरका बालबालिकाको आफ्नै बुवा वा आमा मध्ये कोही एकजना साथमा जाँदैछन् भने पिसिआर आवश्यक पर्दैन तर परिवारकै अन्य सदस्य वा कसैको साथमा पठाउँदा भने अनिवार्य पीसीआर रिपोर्ट आवश्यक पर्छ । पीसीआर रिपोर्ट सबै यात्रुको हकमा ७२ घण्टा पार नभएको अँग्रेजी भाषामा लिखित हुनुपर्नेछ ।

पासपोर्ट नभएका बालबालिकाहरुको ट्राभल डकुमेन्ट सक्कली प्रतिनै जापानस्थित बिमानस्थलमा नै देखाउनुपर्ने हुनाले फोटोकपी नभई सक्कली प्रति साथमा राख्नुपर्ने नेपाल एयरलाइन्सले जनाएको छ ।