शनिबार, बैशाख ०८, २०८१

काठमाडौं विश्वकै प्रदूषित सहको एक नम्बरको सूचीमा, मानव जीवन जोखिममा

काठमाडौं । काठमाडौं आजपनि विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमा परेको छ । सोमबार पनि पहिलो नम्बरमा रहेको काठमाडौं आजपनि एक नम्बरमै परेको हो । केही दिन कम देखिएको प्रदूषण हिजोदेखि पुनः उच्च बन्दै गएको छ ।

घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ । आज बिहान काठमाडौंको क्युआई २९१ रहेको छ । मंगलबार बिहान काठमाडौंपछि बंगलादेशको ढाका, भारतको दिल्ली, भियतनामको हानोइ क्रमशः दोस्रो, तेस्रो स्थानमा रहेका छन् । देशका विभिन्न स्थानमा लागेको डढेलो तथा लामो समयदेखि पानी नपर्दा प्रदूषण बढेको हो ।

वायू प्रदूषण अत्याधिक बढेपछि विज्ञहरुले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरेका छन् ।

यसअघि उपत्यकामा चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो। प्रदूषण बढेको भन्दै सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।