काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मालाई संसदमा विश्वासको मत लिन सुझाव दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कँडेलले २०७४ को निर्वाचनमा जनताले एमालेलाई नभई नेकपालाई मत दिएकाले सर्वोच्चले नेकपा खारेज गरेकाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताएका हुन् ।
दल विभाजन भएपछि प्रधानमन्त्री स्वतः अल्पमतमा परेकाले नैतिकता भए प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए । उनले भने, ‘जनताले नेकपालाई मत दिएका हुन् । एमालेलाई दिएका होइनन् । अब एमालेले विश्वासको मत लिनुपर्ने होइन र ? दल विभाजित भएपछि ओली अल्पमतमा परिसके । यो अवस्थामा हामी एमालेलाई चिन्दैनौं । अलिकति नैतिकता छ भने विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री पन्छिन पाउनु हुन्न । माओवादीले समर्थन फिर्ता लिएन भन्न पाइन्न ।’
कँडेलले प्रधानमन्त्री आफैसँग लडिरहेका साथीहरुलाई पन्छाउँदै निरंकुशता लाद्न अग्रसर भएका बताए । उनले २७४ को निर्वाचनमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्मरण गर्दै भने, ‘ २०७४ को निर्वाचनमा होमिदा त्यसबेला केपी ओलीले गोरखाको आमसभालाई सम्बोधन गर्नुभएको थियो । त्यतिबेला ओलीले भन्नुभएको थियो कि नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भनेर । तर अहिले हामीलाई आफैं लाज लाग्छ ओलीको अभिव्यक्तिबाट । आफैंसँग लडेका साथीहरुलाई पन्छाउँदै निरंकुशता लाद्न खोज्दैछन् । कुर्सी मोह छ ओलीमा । यस्तै रह्यो भने केपी ओली एमालेको अन्तिम प्रधानमन्त्री हुनेछन् ।’