बिहिबार, बैशाख ०६, २०८१

एमालेको नेपाल समूहद्धारा ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ ।
पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ ।

अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो । शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।
दुई महिने अभियानका क्रममा वडा तहसम्म पार्टी र जनसंगठनका संगठन बनाउने नेता रघुजी पन्तले जानकारी दिए ।

अधिवेशनबाट निर्वाचित कमिटीहरुलाई बाइपास गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानान्तर कमिटीहरु बनाएकाले त्यसको प्रतिरोध गर्नु बाध्यात्मक कदम भएको उनले बताए ।