शनिबार, बैशाख ०८, २०८१

जापानमा नयाँ कोरोना संक्रमित बढ्न थाले, कुल संक्रमित ४ लाख ८० हजार नाघ्यो

जापान । नयाँ कोरोना भाइरस संक्रमित जापानमा बृद्धि भएको छ । बेलायत, अफ्रिका तथा ब्राजिलमा भेटिएको छिटो सर्ने क्षमता भएको कोरोना भाइरस जापानमा पनि संक्रमितको संख्या बृद्धि भएको हो ।
ओसाका, मियागी लगायत क्षेत्रमा पुष्टि भएका मध्ये करिव आधा संख्याका कोरोनाका बिरामी संक्रामक भाइरसबाट संक्रमित भेटिन थालेका छन् । यो संगै ति क्षेत्रमा दैनिक संक्रमितको संख्या उच्च गतिमा बृद्धि हुन थालेको छ ।

राजधानी टोकियो सहित आसपासका प्रिफेक्चरहरु र अन्य मुख्य शहरहरुमा समेत संक्रामक भाइरसका बिरामी पुष्टि हुने क्रम बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

एकपछि अर्को शहरहरुमा सामुहिक रुपमा संक्रामक भाइरसका बिरामी फैलंदै जाँदा जापानले केही क्षेत्रमा कडा भाइरस प्रतिरोधी नियम घोषणा गरेको छ ।

दैनिक कोरोना भाइरसबाट निधन भएकाको संख्या न्यून रहेपनि गम्भिर बिरामी हुनेको संख्या बढिरहेको छ भने संक्रमितको संख्यामा तिब्र बृद्धि जारी छ ।

अप्रिल २ तारिख देशभर २२ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विवरण अनुसार पछिल्लो २४ घण्टामा २७ सय ५९ नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन् ।
कुल संक्रमितको संख्या ४ लाख ८० हजार पार हुँदा मृतकको संख्या ९ हजार २ सय ३० पुगेको छ । संक्रमित कुल संख्या मध्ये ४ लाख ४८ हजार निको भइसकेको छन् ।