बिहिबार, बैशाख १३, २०८१

माओवादी केन्द्रद्वारा सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू मंगलबार सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् । प्रचण्डसँग नेताहरु वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायत सर्वोच्च पुगेका थिए ।

पुनरावलोकन निवेदन दर्ता गराएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएको भन्दै आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको बताए ।उनले भने, ‘आज म पहिलोपटक अदालतको फैसला त्यो पार्टीको नामसम्बन्धी जुन फैसला भयो। त्यो स्वभाविक, प्राकृतिक भएन राजीतिक प्रकृतिको भयो। त्यसमा पुनरावलोकन गर्नुपर्यो भनेर मैले निवेदन दर्ता गराएको छु ।’

उनले एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम, अदालतले गरेकाले त्यो निर्णय सच्चिने उनले बताए ।

फागुन २३ गते न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।