शुक्रबार, चैत १६, २०८०

विदेशी विद्यार्थीलाई प्रवेश अनुमति दिनेबारे सकारात्मक सोचमा छौं : विदेशमन्त्री

टोकियो । कोरोना महामारीको चपेटामा एक वर्षभन्दा लामो समयदेखि जापान अध्ययनको लागि प्रवेश कुरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई जापानले कडा नियमसहित प्रवेश दिन सकारात्मक भएको छ ।

जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले यस बारेमा बोल्दै अध्ययनका लागि जापान आउने विदेशी विद्यार्थीहरुलाई प्रवेश अनुमति दिनबारे सोचिरहेको बताएका हुन । विदेश मन्त्रालयमा गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोतेगीले ओलम्पिकसँग सम्वन्धित व्यक्तिहरुसँगै विदेशी विद्यार्थीहरुलाई प्रवेश दिने बारे सरकारले सकारात्मक सोचमा रहेको जानकारी गराएका छन् ।
‘मलाई लाग्छ ओलम्पिक सम्वन्धि विदेशी मिडिया र व्यक्तिहरुलाई जापान प्रवेश अनुमति दिइनेछ । किन हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि समान विशेष कदम चाल्न सक्दैनौं ? जापानमा अध्ययन गर्ने उच्च आकांक्षा भएका विद्यार्थीहरुको भविष्यका लागि कडा क्वारेन्टाइन व्यवस्था गरी प्रवेश दिन सक्ने सम्भावना कत्तिको छ ? भनि पत्रकार सम्मेलनमा एक पत्रकारले मन्त्री मोतेगीलाई प्रश्न राखेका थिए ।
जवाफमा मन्त्री मोतेगीले भने ‘नयाँ आप्रवासीहरुको स्वीकृती पुन सुरु गर्ने कुरा देश तथा विदेशमा संक्रमणको अवस्थालाई ध्यान दिएर यो महामारी रोकथामका उपायहरुका आधारमा हामीले लिने नीतिगत निर्णयहरु हो ।
हामी यस्तो अवस्थामा टोकियो ओलम्पिक र पाराओलम्पिक अधिकारीहरु र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रवेश बारे पनि बिचार गरिरहेको जवाफ दिएको विदेश मामिला मन्त्रालयले जनाएको छ ।