बुधबार, बैशाख १२, २०८१

जनजाति प्रतिष्ठान खारेज गरे कडा आन्दोलन गर्ने महासंघ चेतावनी  

 काठमाडौं ,१४ माघ । नेपाल आदिवासी जनजाति महासंघले सरकारले जनजाति उत्थान प्रतिष्ठानको खारेज गरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आदिवासी जनजाति महासंघले प्रतिष्ठानको खारेजी रोक्न रणनीति तय गर्नका लागि आज कुसुन्तीमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त निर्णय गरिएको बताइएको छ ।
बैठकमा प्रतिष्ठानलाई कुनै पनि हालतमा हटाउन नदिन दवाव स्वरुप प्रधानमन्त्री र स्थानीय विकास मन्त्रीलाई तत्काल ध्यानाकर्षणपत्र बुझाउने र यसो गर्दा पनि प्रतिष्ठान खारेजी भएमा कडा आन्दोलन गर्ने जनजाति महासंघले जनाएको पनि नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले जनाएका छन् ।
पुनले संघीय संरचनामा राज्य जान लागेको हुनाले प्रतिष्ठानको आवस्यकता नभएको भन्दै खारेज गर्न लागेको आदिवासी जनजातिहरु दुःखी भएको बताएका छन् ।
“हामीले यसको कार्यकारी निकाय प्रदेशमै हुने भएपनि आदिवासी जनजातिहरुको विविधतालाई कायम राख्न केन्द्रमा पनि प्रतिष्ठान आवस्यक रहेको कुरा स्थानीयमन्त्री समक्ष राखेका छौं ।” प्रतिष्ठानका कार्यकारी सदस्य समेत रहेका पुनले भने, “ यो प्रतिष्ठान ऐन अनुसार गठन भएको हुनाले खारेज गर्न पाइदैँन ।”
प्रतिष्ठानले आदिवासी जनजाति समुदायको भाषाको विकास, संस्कारको उत्थानमा काम गर्दै आएको छ ।