बिहिबार, चैत १५, २०८०

सरकारद्वारा ‘नागरिक एप’ सार्वजनिक,यस्ता छन् विशेषता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु-याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा उहाँले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

“नागरिक एप्स आम नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्वपूर्ण प्रयास हो”, मन्त्री गुरुङले भने, “सरकारी सेवा र सूचना हातहातमा कसरी पु¥याउन सकिन्छ, सबै कागजपत्रलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर छ र त्यसैअनुसार एप्स ल्याइएको हो ।”

मन्त्री गुरुङले सरकारले तीन वर्षको लामो अध्ययनपछि एप्स ल्याएको र यो राष्ट्रिय गौरवको कार्यक्रमसमेत भएको बताए। नागरिकबाट प्राप्त सुझावका आधारमा अझै परिमार्जन गर्दै लगिने उनले जनाए । अझै पारदर्शी बनाइ कम खर्चिलो र झन्झटबाट मुक्त पारी सबै सेवा दिने सरकारको चाहना रहेको जानकारी गराउँदै मन्त्री गुरुङले थपे, “नागरिकका निम्ति सरकारी सेवा चौविसै घण्टा र विदाका दिनमा समेत प्राप्त गर्न सकोस् र नागरिकको सेवा सुदृढ एवं व्यवस्थित गर्न सकोस् भन्नेमा सरकार गम्भिर छ ।”

यस्ता छन् एपका विशेषता

  • नागरिकले ‘नागरिक एप’बाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने
  • सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने
  • नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने
  • नागरिक लगानीकोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने
  • हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था
  • त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ ।
  • यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिनेछ ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि Android मोबाइल प्रयोगकर्ताले Play Store र iPhone प्रयोगकर्ताले Nagarik App (Beta) डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ ।