शुक्रबार, चैत १६, २०८०

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि सरकारबाट प्रहारः प्रचण्ड-नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्षद्वयले शुभमाना दिँदै नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, नेपाली समाजका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन् । विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरु राष्ट्रको समुच्च मौलिक पहिचान हो । भौगोलिक विविधतायुक्त नेपालका सामुदायिक सांस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन् । यिनै मार्फत नेपालीहरुमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो ।’

नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको भन्दै उनीहरुले नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको उल्लेख गरेका छन् ।

अध्यक्षद्वयले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपीलसमेत गरेका छन् ।