लघुकथा: भुल

प्रभादेवी पौडेल ।
भाजुरत्न र मिठालाल सानै देखि निक्कै मिल्ने साथी थिए। उनीहरु संगै पढ्ने संगै खेल्ने र साथसाथै ठुलो भएपछि पनि एकै प्रकारको ब्यबसाय गरेका थिए। भाजुरत्नका बा बिरामी पर्दा पनि हस्पिटलमा प्राय साथिलाई पालो मिठालालले नै दिएको थियो।

एक्दिन अचानक भाजुरत्नको बुवाको मृत्यु भयो। मिठालालले निक्कै सहयोग गर्यो रातभरी किरिया पुत्री कुरेर बिहानी पख घर गयो । घरमा उसकी पत्नीले भनिन्,-” बुढा घरमा तरकारी सकिएको छ यसो मुख फेर्नको लागि केही नयाँ तरकारी भेट्नू भयो भने ल्याऊनु है, फेरि आज हजूरको साथिको घरमा पनि भेटी लानुपर्छ फलफूल कागती अदुवा पनि लिएर आउनू नी।” बुढिका कुरा सुनेर उ पसल गयो। त्यहि बेलामा उसलाई कतैबाट जरुरी भेट्नुपर्ने काम भन्दै फोन आयो। उसले सबै सामान किनिसकेपछि छोरालाई बाटासम्म लिन बोलायो र भन्यो, -“बाबु भाजुरत्न अंकलको घर भेटी लगिदिनू है म आउॅन अलि ढिला हुन्छ होला खाना पनि खाएर बस्नु।”

छोरो घर पुग्यो उसलाई देख्ने बित्तिकै आमाले भनिन्, -” बाबु तँ भित्र नआइज भेटी त घर भित्र नहुलि बाहिरैबाट लगिदिनू पर्छ।” आमाका कुरा सुनेर छोरोले झोलाबाट तरकारीको पोको आमालाई दिएर बाहिरैबाट झोला नखोलि बाको साथिको घर भेटी पुर्यायो। निक्कै समय पछि मिठालाल घर आयो। भान्छा तिर हेर्यो र खाना नखाई सिधै साथिकोमा पुग्यो। त्यहाॅ सबैले उसलाई नै गाली गरेका थिए। ऊ पुग्ने बित्तिकै भाजुरत्नले भन्यो,-” मैले तँलाई नजिकको मान्छे भनेर भरोसा गरेको थिएँ मिठालाल ,यस्तो दु:खको घडीमा मासु भेटी पठाएर साथिको भुमिका राम्रोसंग निभाइस् हैन?”

फेसबुकबाट तपाइको प्रतिक्रिया