शुक्रबार, चैत १६, २०८०

राम मन्दिरको कुरा छाडेर अस्पताल निर्माणमा जोड दिन नेता भट्टराइको सुझाव

गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने ?

अस्पताल र भेन्टिलेटर अभावका कारण मानिसहरु मरिरहेको भन्दै नेता भट्टराईले जनताको स्वास्थ्यप्रति गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘कोरोनाको यो महामारीको समयमा सरकारले अस्पतालमा उपकरण जुटाउने, भेन्टिलेटर बनाउने तिर समय दिनुपर्ने हो,’ शुक्रबार गृह जिल्ला आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा भने, ‘तर प्रधानमन्त्रीको ध्यान भने अयोध्या र राम मन्दिर बनाउने तर्फ छ ।’
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको उनको आरोप छ । ‘दृष्टिविहीनले हात्ती छाम्दा चाल नपाएजस्तो कोभिड(१९ को बारेमा सरकारले अहिलेसम्म केही भेउ पाएको छैन,’ उनले भने ।चार महिनाको बन्दावन्दीमा जुन तयारीका साथ सरकारअघि बढ्नुपथ्र्यो त्यसमा पनि चुकेको भन्दै उनले सरकारको आलोचना गरे ।

पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टिन र भेन्टिलेटर सहितको उपचारको व्यवस्था, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षा व्यवस्थालगायतका कुरामा सरकार चुकेको उनको भनाइ छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको भर नपर्ने उनले आग्रह गरेका छन् ।