सिन्धुपाल्चोकको पहिरोले पुरिएकामध्ये ७ को शव फेला,३१ जना अझै बेपत्ता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ ।
शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा ३ दर्जन भन्दाबढी घर पुरिँदा ३८ जना बेपत्ता भएका थिए । पहिरामा परेकामध्ये अझै ३१ जना बेपत्ता छन् । घाइते भएका १४ जनाको उद्धार गरीएकामा चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानियले पूरिएकाहरुको खोजिकार्य जारी राखेका छन् । पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिरोले बगाएकाले उद्धारमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।
यही साउन २३ गते उक्त ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताए ।
तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया