शुक्रबार, चैत १६, २०८०

सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै स्थानीयवासी आन्दोलित

सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् ।

मंगलबार बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

स्थानीयवासीको जनभावनाअनुरुप सरकारले तत्काल काम अघि बढाउनुपर्ने माग गरिएको छ । स्थानीयवासी शङ्कर श्रेष्ठले सडक व्यवस्थित नहुँदा जीवनयापन असहज भएको बताउछन्।

हिलाम्मे सडकका कारण बाइसधारामा आउने पर्यटकमा नकारात्मक प्रभाव परेको यहाँका अर्का स्थानीयवासी हरिदास थापाले बताए ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हड्पेर बिना लालपुर्जा किनबेचसमेत गरिएको थियो । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हड्पेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।

एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । ती टहरामा बसिरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।

विसं २०१७ सम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र सो विद्यालयपछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हड्पेर बसेकालाई सरकारले घरबापत आवश्यक मुआब्जा २०७१ सालमै दिइसकेको छ ।

मुअब्जा पनि लिने सार्वजनिक जग्गा पनि अझै आपूmहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

हाल सडक विस्तारका लागि खनिएको जग्गामा कुनै बेला पाटी, विद्यालय रहेको र विभिन्न जिल्लाबाट काठमाडौं आउने सर्वसाधारण बस्ने गरेका थिए । बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् ।

आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरे पनि सार्वजनिक जग्गा हड्पेका हुँदा अनावश्ययक दुःख दिएकाले आफूहरु सडकमा उत्रिएको स्थानीयवासीको भनाइ छ ।