बिहिबार, बैशाख ०६, २०८१

निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि बोहोराको हत्या गरेको कल्पनाको बयान

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा कल्पना मुडभरी पौडेलको संलग्नता रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी बोहोराको हत्यामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो ।

साथै प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल लगायत पनि बरामद गरि सार्वजनिक गरेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका बोहोरा र कल्पनालेसँगै बसेर मदिरा पिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साथै मदिराको नसा चढ्दै गएपछि कल्पनाले दहीमा स्लिपिङ ट्याबलेट हालेर बोहोरालाई खुवाएको पाइएको छ ।

पौडेलले प्रहरी बयानमा बोहोरालाई स्लिपिङ ट्याबलेट खानदिएर सुतेपछि हथौडाले संवेदनशील अंगमा प्रहार गरी मारेको स्वीकारेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बोहोरा र कल्पनाबीच फेसबुकबाट चिनजान भएको र पछि बोहराले नक्कली फेसबुक बनाएर महिलाका निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको हुनसक्ने देखिएको बताए । हत्यापछि बोहोराको शव व्यवस्थापनमा कल्पनाकी छोरी पनि संलग्नता देखिएको उनले जानकारी दिए । उनले तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान अघि बढाएको उल्लेख गरे ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।