शुक्रबार, बैशाख ०७, २०८१

प्रधानन्यायाधीशको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन सकेन : बार एसाेसिएसन

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ ।

बार एशोसिएशनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् ।

२०७५ सालमा बहाली हुँदा न्यायपालिका भित्रको विसंगति विक्रिती हटाउन नेतृत्व गर्ने भन्ने भएपनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको उनको भनाइृ छ ।

उनले भने ‘न्यायपालिका भित्र न्याय सम्पादन सन्तोषजनक छैन । अहिलेका वर्तमान प्रधान न्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा २०७५ मंसिर, पुष, माघ तिरको पत्रपत्रिका, अनलाइन हे¥यौं भने हाम्रो न्यायपालिका भित्रको विसंगति विक्रिती हटाउनको लागि न्यायिक नेतृत्व प्रधानन्यायाधीशले यसमा नेतृत्व प्रदान गर्दछ भन्ने कुराहरु हामीले पाएका थियौं । तर अहिले व्यवहारमा हेर्दाखेरी सुधारका झिना मसिना कुराहरु भए तर जनताले चाहेको खास कुरा अझपनि समाधान हुन सकेको छैन् ।’

नेपाल बार एशोसिएशनले न्याय सम्पादनमा भएका विक्रिती विसंगति हटाउनुपर्ने भन्दै प्रधान न्यायाधीश समक्ष विभिन्न १७ बुँदे माग सहितको पत्र बुझाइसकेको अध्यक्ष श्रेष्ठले बताए ।

बारले एक महिना भित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिए अनुसार एक बराबर तीनको रोष्टर बनाई सार्वजनिक गर्न माग गरेको छ ।