बिहिबार, बैशाख ०६, २०८१

म्यानमार निवासी अभिलाषा बनिन एनआरएनए ग्लोबल स्पीच कन्टेस्टको प्रथम

कविकिरण न्यौपाने,जापान । एनआरएनए ग्लोबल स्पीच कन्टेस्टमा म्यानमारबाट सहभागी भएकी अभिलाषा खतिवडा प्रथम भएकी छिन । १९ वर्षमुनीका नेपाल बाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच भएको ‘ग्लोबल स्पीज कन्टेस्ट’ मा अभिलाषा खतिवडा विजेता भएकी हुन् । विजेता सँगै खतिवडाले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरिन । कार्यक्रम एनआरएनए एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा सम्पन्न भएको हो ।
एनआरएनएले इतिहासका पहिलो पटक यस्तो प्रकारको कार्यक्रम गरेको एनआरएनए एसिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठको भनाई छ । एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार उक्त अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६० जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट सहभागिता रहेको थियो ।
त्यसै एनआरएनएका एसिया प्यासिफिकका उप- संयोजक पारशमणी पोखरेलका अनुसार कार्यक्रम पूर्ण रुपले सफल भएको र विश्वनै कोरोना महामारीको कारण लकडाउनमा रहेको अवस्थामा यस्ता प्रकारका कार्यक्रम उपयोगी हुने उनको धारणा छ।
प्रतियोगितामा रसियाका समरिया केसी दोस्रो बन्न सफल भइन । समरियाले साठी हजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन । यूकेबाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेश्रो हुदैं चालिस हजार नगद सहित प्रमाण पत्र हात पारिन । त्यस्तै, नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व
गरेका जस्मिन सायदले चौथो स्थान प्राप्त गरे । थाइल्याण्ड का दंग तिमिल्सीनाले पाँचौ भए । अस्ट्रियाबाट प्रतिनिधित्व गरेका कुञ्जन बोहरालाई ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिब्या ढकालले प्राप्त गर्न गरे।
कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्त, एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, युवा संयोजक हिमाल गुरुङ, एसिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द ), उपसंयोजक खगेन्द्र न्यौपाने, एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक कञ्चन थापा (अमृता ) लगाएतबाट मन्तब्य व्यक्त गरिएको थियो। कार्यक्रम एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोक्योबाट जुम मार्फत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए। कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागीता थियो।
https://youtu.be/9NmUhi0Z7Ao