शनिबार, बैशाख ०८, २०८१

प्रदेश सरकारद्धारा दोलखाका बाढी-पहिरो पिडितलाई ७५ लाख सहयोग

दोलखा । बागमती प्रदेश सरकारले दोलखाका बाढी पहिरो पिडितलाई ७५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको आज विहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बाढी पहिरो प्रभावित गौरीशंकर र कालिञ्चोक गाउँपालिकाका लागि ३०/३० लाख तथा विगु गाउँपालिकाका लागि १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको बागमती प्रदेश सांसद विशाल खड्काले जानकारी दिनुभयो । सो रकम तुरुन्तै गाउँपालिकाको खातामा निकाशा हुनेछ भने क्षतिको आधारमा गाउँपालिकामार्फत पिडितले सहयोग प्राप्त गर्नेछन् । स्थानीय जनताहरु अप्ठेरोमा परेका बेला सरकार भएको महसुस गराउने गरी प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध भएको सांसद खड्काले बताउनुभयो ।

दोलखाका ९ स्थानीय तहमध्ये विषेशगरी यी तीन स्थानीय तहमा मानिसको बाढी पहिरोका कारण मृत्यु, घाइते र विस्थापित हुने अवस्था आएको थियो । केही दिन अघि मात्रै गौरीशंकर गाउँपालिका ८ खारेमा गएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको थियो भने एक घाइते भएका थिए । बाढी पहिरोकै कारण यी क्षेत्रमा धेरै घर परिवार विस्थापित भएका छन् ।