शुक्रबार, बैशाख ०७, २०८१

राष्ट्रियसभाका चार वटै समितिका सभापति निर्विरोध चयन

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको चारवटै समिति बैठकले निर्विरोध रुपमा सभापति निर्वाचित गरेको हो । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका छन् ।

यसअघि बिहीबार भएको उम्मेद्वारी दर्तामा चारवटै समितिमा एकल उम्मेद्वारी परेपछि समितिले उनीहरुलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित भएपनि समिति सभापतिहरुले बिगतको अनुभव र अनुभूतिलाई समेटेर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् । निर्वाचित हुने चार जना सभापतिमध्ये दुई जना नेकपाका, एक जना सरकारबाट मनोनित र एक जना नेपाली कांग्रेसका सांसद हुन् ।

राष्ट्रिय सभाका विषयगत समितिका सभापति र समिति सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ । हरेक २ वर्षमा एक तिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने र ती ठाउँमा निर्वाचन हुने भएकाले नयाँ सांसद आएसँगै समिति पुनर्गठन हुने व्यवस्था छ ।