शनिबार, बैशाख ०८, २०८१

रोटरी क्लब अफ मातृभूमि बालुवाटारकाे अध्यक्षमा अनुज थापा

काठमाण्डौ । रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अध्यक्षमा युवा उद्यमी तथा समाजसेवी अनुज थापा चयन भएका छन् ।

हरेक वर्ष नेतृत्व हस्तातरण गर्ने रोटरीको परम्परा अनुसार सो क्लबले आगामी १ वर्षका लागि थापालाई नेतृत्व हस्तातरण गरेको हो । काठमाडौंमा मगलबार आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ मातृभूमि बालुवाटारले नयाँ अध्यक्षका रुपमा थापालाई जिम्मेवारी सुम्पिएको हो । थापासँगै आगामी वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ ।

उत्साही नेपाली युवाहरुको सक्रियतामा ५ वर्षपहिले स्थापना भएको रोटरी क्लब अफ मातृभूमि बालुवाटारले छोटो समयमै समाजसेवाका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । स्थापनाको पाचौँ वार्षिकोत्सव समेत मनाइएको सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष जयराम सिग्देलले नयाँ अध्यक्ष थापालाई जिम्मेवारी हस्तातरण गरे ।

रोटरी क्लब नेपाल र भुटान च्याप्टरका अध्यक्ष राजीव पोखरेलले नयाँ अध्यक्ष थापालाई रोटरीको शपथ ग्रहण पनि गराएका थिए ।
करिब १० वर्ष जापानमा अध्ययन तथा व्यवसायमा संलग्न भएर बसेका युवा व्यवसायी थापा नेपाल फर्किएपछि पनि पयर्टन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।

जापानमा रहँदा अन्तर्राष्ट्रिय नेपालीमाझ लोकप्रिय सामाजिक संस्था एनआरएनए जापानका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य समेतको जिम्मेवारी सफल रुपमा निर्वाह गरेका थिए । नेपालमा पनि थापा व्यवसायका अलावा विभिन्न सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
कार्यक्रममा रोटरी क्लबका अध्यक्ष राजीव पोखरेलले रोटरी समाज सेवा गर्ने पवित्र उद्देश्यसहितको संस्था भएकाले स्वार्थरहित सेवा गर्ने जोकोही पनि यस संस्थामा आबद्ध हुन सक्ने बताए । समाजसेवाका क्षेत्रमा छोटो समयमै पनि मातृभूमि बालुवाटार क्लबले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै पोखरेलले प्रशंसासमेत गरेका छन् ।

सो अवसरमा क्लबका चार्टर अध्यक्ष निगम हुमागाई, पूर्वअध्यक्षहरु विष्णुहरि दाहाल, विनोद अधिकारी र निवर्तमान अध्यक्ष जयराम सिग्देलले नयाँ अध्यक्ष अनुज थापाको कार्यकाल सफल हुनेमा आफूहरु विश्वस्त रहेको बताउँदै सबै मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा पत्रकार टिकाराम यात्रीलाई मातृभूमि हिरोको उपाधिद्वारा सम्मान गरिएको थियो भने पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, वरिष्ठ पत्रकार भूषण दाहाल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

विश्वका २ सय देशमा समाजसेवामा अग्रणी भूमिका खेलिरहेको रोटरी क्लबमा नेपालमा पनि साढे ५ हजार सदस्य छन् । विश्वभरीका विपद्मा सेवा गर्दै आइरहेको रोटरीले नेपालमा पनि गएको भूकम्पमा सबैभन्दा बढी सहयोग गरेको थियो ।

कोरोना महामारीको यो संकटमा पनि रोटरी क्लबले देशका विभिन्न क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ ।