सवारी पास बितरणमा नयाँ व्यवस्था लागू

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

कार्यालय परिसरमा मानिसको अत्यधिक भिड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भिडभाड रोक्न र सामाजिक दुरी कायम गर्न नयाँ व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाण्डौ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने उनले बताए । निवेदन दिएर त्यही दिन पास लिन कुर्दा मानिसको भिडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

प्रशासकीय अधिकृत पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेदेखि पास वितरण गरिने छ । काठमाण्डौमा पछिल्लो समयमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागमनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ । मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी जोखिम बढी भएका स्थानमा सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागू गरेको छ ।

उपत्यका र कोभिड १९ को २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: