मङ्गलबार, बैशाख ०४, २०८१

नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउएका हुन् ।

बिहीबार काठमाडौंका थप ७६, भक्तपुरका एक र ललितपुरका दश जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन । देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन ।

बिहीबार ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ । त्यस्तै, मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यस्तै, मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरे ।

उपत्यका लगायत घनावस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकितसक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।