शुक्रबार, बैशाख ०७, २०८१

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।

जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उनले अनुरोध गरेका छन् । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उनले प्रष्ट पारे। पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ ।