शुक्रबार, बैशाख ०७, २०८१

एभरेष्ट स्कुलले अनलाइन मार्फत विश्व ब्यापी रुपमा सेवा बिस्तार गर्ने

टोकियो । नेपाल सरकारद्वारा मान्यता प्राप्त मुलुक बाहिरको एक मात्र नेपाली शिक्षण संस्था एभरेष्ट इन्टरनेशनल स्कुल जापानले निकट भविष्यमै डिजिटल प्रविधिबाट संसारभर छरिएका नेपालीहरुले पढ्न मिल्ने अनलाइन पाठ्यक्रम अनुसारको पढाई सुरु गर्ने भएको छ ।
अब विद्यालय शिक्षालाई कक्षा कोठामा मात्र सीमित नगरी डिजिटल प्रविधिमार्फत विश्वब्यापीरुपमा बिस्तार गर्दै लैजाने योजना अनुरुप दुरशिक्षा प्रणालीअनुसारको अनलाइन पाठ्यक्रम तयार गरी निकट भविष्यमै एभरेष्ट स्कुलले पढाई सञ्चालन गर्ने भएको हो ।
जसअनुसार विश्वका जुनसुकै भूगोलमा उपलब्ध हुन सक्ने दक्ष शिक्षक-शिक्षिकाबाट संसारभरबाट इच्छुक नेपालीहरुले स्तरिय शिक्षा हासिल गर्न सक्ने ब्यवस्था मिलाईने भएको छ । यसका लागि आवश्यक गृहकार्यमा जुटिसकेको एभरेष्ट इन्टरनेशनल स्कुलले जनाएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानका तर्फबाट सञ्चालक समितिका अध्यक्ष भवन भट्टले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराउनुभएको हो ।
विज्ञप्तिमा, विद्यालयको शैक्षिक गुणस्तरलाई यथोचित अभिबृद्धि गर्दै पठन-पाठन तथा प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त दुरुस्त पारी परिणाममुखी बनाईने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
विद्यार्थीहरुलाई पठन-पाठनका साथै उनीहरुको रुचीअनुसार अतिरिक्त क्रियाकलापमा समेत नियमित सरिक गराई शारीरिक तथा मानसिकरुपमा स्फुर्त बनाउन र आधारभुत बाह्य ज्ञान दिलाउन प्रमोटर, अभिभावकका साथै समाजका विविध क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई ’गेष्ट स्पिकर’ का रुपमा नियमित आमन्त्रण गरी अनुभव आदान-प्रदान गर्न लगाईने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी कोभिड-१९ को बिश्वब्यापी महामारी र यसले सबै क्षेत्रमा पारेको नकरात्मक असर संगै पछिल्लो समयमा कोरोना संक्रमितहरुको संख्या पुनः दिनानुदिन बढ्दोक्रममा रहेकोले परिस्थिति थप जटिलतातर्फ उन्मुख देखिएको भन्दै गत जुन २७ देखि सुचारु प्रथम त्रैमासिक परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । जसअनुसार पूर्व निर्धारित सूचनाअनुसार आगामी हप्तादेखि दुईहप्ताका लागि हुने भनिएको गृष्मकालिन बिदा एकहप्ता अगावै मिति ३ अगष्टबाट लागू हुनेगरी बिदा गरिएको जनाईएको छ, र स्थगित परीक्षाको बाँकी बिषयहरुको परीक्षा गृष्मकालिन बिदा पछि हुने बताईएको छ । ’यसबाट पर्न गएको असुबिधाका लागि सम्बन्धित सबैप्रति विद्यालय परिवार हार्दिक क्षमायाचना गर्दछ’ – विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष भट्टको अध्यक्षतामा हालै बसेको विद्यालय सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार कोभिड-१९ का कारण अभिभावक वर्गमा पर्न गएको आर्थिक भारलाई सांकेतिक राहतस्वरुप यहि अगस्ट महिनादेखि लागू हुने गरी आगामी डिसेम्बर महिनासम्मका लागि विद्यार्थीहरुको मासिक शुल्कमा २ हजार येन छूट दिईने भएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ – ’स्थापना कालदेखि विद्यालयलाई आजको अवस्थासम्म आईपुग्न पुर्‍याउनुभएको अनवरत योगदानको उच्च मुल्याङ्कन गर्दै समस्त प्रमोटर, अभिभावक, संस्थापक अध्यक्ष, संस्थापक प्रिन्सिपल, शिक्षकवर्ग र विभिन्न जिम्मेवारीमा रहेर अहम भूमिका निर्बाह गर्दै आउनुभएका सञ्चालक समिति तथा कार्यकारी समितिका सदस्य एवं सल्लाहकारज्यूहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।’
’विद्यालय सञ्चालनको यात्रा अब निःसन्देह नयाँ चरणमा प्रवेश गरिसकेको सन्दर्भमा अब नयाँ ऊर्जासहित नयाँ शिराबाट अगाडि बढ्ने दृढ संकल्प गर्दै सदाझैं यहाँहरुबाट रचनात्मक साथ, सहयोग र सहकार्य हुनेमा हामी पूर्ण विश्वस्त छौं – विज्ञप्तिमा अगाडि भनिएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुलको सञ्चालक समितिमा नयाँ नेतृत्व आएपछिको पहिलो बैठकले केही महत्वाकाँक्षी निर्णयहरु गर्दै विद्यालयलाई नयाँ स्वरुपमा लैजाने घोषणा गरेको हो । निवर्तमान अध्यक्ष डा. भूपालमान श्रेष्ठको राजीनामा पछि रिक्त अध्यक्षमा भट्ट जिम्मेवारी सम्हाल्न आउनु भएको हो ।
एभरेष्ट स्कुलमा हाल २ सय ६३ जना विद्यार्थीहरु अध्ययनरत छन् । अंग्रेजी माध्यममा पढाई हुने सो स्कुलमा हाल १० कक्षासम्म पढाई भईरहेको छ भने १२ कक्षासम्मको लक्ष रहेको छ । अंग्रेजी, नेपाली र जापानी गरी तीनवटै भाषा संगसंगै सिक्न सकिने एभरेष्ट स्कुलको बिशेषता मानिन्छ । सुगिनामी वार्डको ओगिकुबोमा आफ्नै निजी भवनमा सञ्चालित स्कुल सन् २०१३ साल अप्रिलदेखि १३ जना विद्यार्थीबाट सुरु भएको हो ।