कोरोना नियन्त्रणका लागि देउवाले प्रधानमन्त्रीलाई दिए सात बुँदे सुझाव

काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई ७ बुँदे सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा उपस्थित देउवाले कोरोना नियन्त्रणका लागि तत्काल गर्नुपर्ने काम भन्दै ७ बुँदे सुझाव दिएका हुन् ।

देउवाले कोरोना भाइरस महामारी रोकथामका सन्दर्भमा सरकारबाट अहिलेसम्म भएका कमजोरीबारे समीक्षा गर्न र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको ढाकछोप नगरी छानबिन गरेर कारबाही गर्न पनि प्रधानमन्त्रीसँग माग गरे ।

कोरोना भाइरसको नियन्त्रणका सन्दर्भमा सुझाव लिन भन्दै प्रधानमन्त्रीले मंगलबार जनस्वास्थ्य विज्ञसहित विपक्षी दलका नेतालाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

उक्त छलफलमा देउवाले सुझावका रुपमा राखेका ७ बुँदा निम्नानुसार छन्,

१) कोरोनाको महामारीका सन्दर्भमा सरकारले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरोस् । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप गर्ने होइन, छानबिन र कारबाही गरियोस् ।

२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु:

– आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।

– सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।

– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।

– मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।

– विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था ।

– नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल ।

– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम सञ्चार माध्यमको व्यापक प्रयोग ।

३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

४) विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

७) वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: