बुधबार, बैशाख १२, २०८१

मैरै पार्टीमा गैरजिम्मेवारपन देखिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आफ्नै पार्टीमा गैरजिम्मेवारपन देखिएको बताएका छन् ।
कोरोना नियन्त्रणका सन्दर्भमा केही मानिस, व्यक्ति र संस्थामा अत्यन्तै गैरजिम्मेवारपन देखिएको उल्लेख गरेको प्रधानमन्त्री ओलीले त्यस्तो अवस्था आफ्नो पार्टी नेकपामा पनि रहेको बताए ।‘केही मानिस, व्यक्ति र संस्थामा अत्यन्त गैरजिम्मेवारपन देखियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यथार्थमा भन्दाखेरी अन्त खोज्न गइरहनु पर्दैन । मेरै पार्टीमा देखिन्छ ।
प्रधानमन्त्री ओलीले भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिने छैनौं हामीले भन्यौं । मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो, के गर्ने हो त्यसको सोच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्ने कुरा मेरै पार्टीका साथीहरुको छ । स्थायी कमिटी बैठक अहिल्यै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो भनिएको छ ।
प्रधानमन्त्री ओलीले देशप्रतिको, जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही र बेवास्ता गर्ने प्रवृत्ति, आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्तिहरु निकै व्यापक रुपमा देखिएको पनि बताए ।‘यो अन्त पनि देखिएको छ । सञ्चारमाध्यमहरुमा देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश यस्तो संकटमा भएको बेला, यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमका रुपमा प्रयोग गरिएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा सरकारले गरेका कामको विनाकुनै आधार विरोध भइरहेको पनि बताए ।

‘रोकेन भने किन रोकेन भन्ने, रोक्यो भने किन रोक्यो भन्ने । क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘लकडाउन गरेन भने किन गरेन भन्ने गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने ।